१२ पुस, वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ स्थित मनिहर्वा चोकबाट शनिबार सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
हुलाकी सडकखण्डअन्तर्गत पर्ने मनिहर्वा चोकमा सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले ९ किलो ३०० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवा निवासी ४३ वर्षीय रविन्द्र महतो र भारत बिहार राज्यको बेतिया जिल्ला निवासी ३७ वर्षीय अशोक महतो रहेका छन्।
सशस्त्र प्रहरीले रविन्द्र सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा मोटरसाइकलको डिक्कीभित्र लुकाइराखिएको ५ किलो गाँजा बरामद गरेको जनाएको छ।
त्यस्तै, अशोक सवार बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।
गाँजा फेला परेपछि दुवै मोटरसाइकलसहित चालकद्वय रविन्द्र र अशोकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको उनले बताए।



















