१२ पुस, जनकपुरधाम। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम तीव्र रूपमा भइरहेको छ। आगामी चैत महिनाभित्र निर्माण सम्पन्न गरी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कम्पनी काममा जुटेको छ।
निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा पुलको स्थलगत अनुगमन गर्दै निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए। उनले निर्माण कार्यको नियमित अनुगमन गरिने र काम सन्तोषजनक नभए ठेक्का तोडिने चेतावनीसमेत दिएका थिए। साथै, हाल नदी बगेको स्थानमा ह्युमपाइप राखी अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष बितिसक्दा पनि कमला पुल निर्माणले पूर्णता पाउन सकेको छैन। पुल नबन्दा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् भने कमला नदी वारपार गर्न जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने अवस्था छ।
२०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो। क्षतिग्रस्त स्ल्याबमध्ये सिराहातर्फ (पूर्व) का दुईवटा स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फ (पश्चिम) का दुईवटा स्ल्याब हटाउन नपर्ने प्राविधिक अध्ययनले देखाएको छ।
सोहीअनुसार भासिएको जगलाई दह्रो बनाएर स्ल्याब लिफ्टिङको काम सुरु गरिने बताइएको छ। लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले स्थलगत निरीक्षण तथा अध्ययन गरी कार्ययोजना तयार गरिरहेका छन्।
पुलको पूर्वतर्फ (सिराहा) सब-स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ। सिराहातर्फका दुईवटा स्ल्याब हटाइएका छन् भने एउटा जग भासिएको स्थानमा दुईवटा नयाँ जग निर्माण गरी सब–स्ट्रक्चरको काम सकिएको छ। अब प्लेट गडर जडान गर्न बाँकी रहेको छ। प्लेट गडर निर्माणको काम चितवनमा भइरहेको र तयार भएपछि पुलमा ल्याई जडान गरिने निर्माण कम्पनीले जनाएको छ।
यद्यपि, ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने अझै सुरु हुन सकेको छैन। गत असोजमा आएको बाढीपछि कमला नदीको धार परिवर्तन भएकाले डिजाइनसम्बन्धी छलफल भइरहेको र डिजाइन टुंगो लागेपछि निर्माण सुरु गरिने बताइएको छ।
तराई-मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा पप्पु लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) को ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक सम्झौताअनुसार पुल २०७१ मंसिरभित्र सम्पन्न हुनुपर्ने थियो।
समयमै निर्माण सम्पन्न हुन नसकेपछि सातौँ पटकसम्म ठेक्का म्याद थपिएको थियो, जसको अन्तिम म्याद गत असारमा सकिएको छ। निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थपका लागि प्रस्ताव पेश गरेको र हाल म्याद थपको प्रक्रिया अघि बढिरहेको छ। हाल बाँकी काम लुम्बिनी पक्षले गरिरहेको छ।
अहिलेसम्म पुल निर्माणमा २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ।









