आपत्तिजनक टिप्पणीको विरोधमा राजविराज बन्द कारबाहीको माग


११ पुस, कल्याणपुर (सप्तरी)। सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीविरुद्ध आपत्तिजनक टिप्पणी गरिएको आरोपमा राजविराजमा दुईवटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन्।

सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोप लागेका राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेना समर्थक कार्यकर्ताहरूले नाराबाजी गर्दै राजविराज बन्द गराएका हुन्।

बन्दका कारण राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका यातायात सेवा प्रभावित भएका छन्। बन्दको आंशिक असर सरकारी कार्यालयमा पनि परेको छ। सप्तरी जिल्ला अदालतले सूचना टाँस गर्दै एक दिनका लागि सेवा प्रवाह स्थगित गरेको जनाएको छ।

हिन्दु धर्मावलम्बीको आस्थामा चोट पुग्ने गरी सामाजिक सञ्जालमा टिप्पणी गरिएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले गरे।

यसअघि राष्ट्रिय बजरङ्ग दल, हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १ रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गर्दै अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाइएको छ।

यता, अफरोज आलमले भने तीन वर्षअघि भूलवश सामाजिक सञ्जालमार्फत त्यस्तो टिप्पणी हुन गएको भन्दै क्षमायाचना गरेका छन्। उनले भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्‍याउने प्रतिबद्धता पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको