तीन वर्षदेखि स्वास्थ्य सेवामा विज्ञापन नखुलेको रहस्य खुल्यो
११ पुस, जनकपुरधाम। स्वास्थ्य सेवासम्बन्धी विभिन्न पदमा तीन वर्षदेखि विज्ञापन नखुलेको विरोधमा करिब ३० जना विद्यार्थी मधेश प्रदेश लोकसेवा आयोगविरुद्ध सडकमा उत्रिएका छन्। उनीहरूले जनकपुरधामस्थित प्रदेश लोकसेवा आयोगको कार्यालय पुगेर आयोगका अध्यक्ष शिवराम यादवसमक्ष गुनासो राखेका थिए। त्यसपछि विद्यार्थीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन्।
यस घटनापछि मधेश प्रदेश सरकारबाट स्वास्थ्य सेवातर्फका कर्मचारीको माग नै लोकसेवा आयोगसम्म नपुगेको तथ्य बाहिरिएको छ। आयोगका अनुसार गत २ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएर रिक्त दरबन्दी भए माग आकृति फाराम उपलब्ध गराउन अनुरोध गरिएको थियो। मन्त्रालय तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण अद्यावधिक गरी विवरण पठाउन भनिए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको आयोगले जनाएको छ।
लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवका अनुसार पछिल्ला तीन वर्षयता मधेश प्रदेश सरकारबाट स्वास्थ्य सेवाका पदपूर्तिका लागि माग आकृति फाराम नै प्राप्त भएको छैन। १० साउन २०८१ मा आयोगको अध्यक्ष नियुक्त भएका यादवले आफूले कार्यभार सम्हालेको १५ महिनाको अवधिमा स्वास्थ्य मन्त्रालयबाट एकपटक पनि माग नआएको स्पष्ट पारे।
‘तीन वर्षदेखि स्वास्थ्य सेवा क्षेत्रमा विज्ञापन नखुलेको विद्यार्थीको गुनासो जायज हो। तर माग नै नआएपछि आयोगले कसरी विज्ञापन गर्ने?’ यादवको प्रश्न छ। माग आकृति फाराम आएपछि मात्र विज्ञापन र पदपूर्तिको प्रक्रिया अघि बढ्ने कानुनी प्रावधान रहेको उनले बताए।
यसको अर्थ मधेश प्रदेशमा जनशक्ति पर्याप्त छ भन्ने होइन। प्रदेश सरकार मातहतका प्रादेशिक अस्पताल, अन्य अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरू गम्भीर जनशक्ति संकटमा छन्। पर्याप्त कर्मचारी नहुँदा अस्पतालहरू रेफर सेन्टरजस्तै बनेका छन् र प्रभावकारी सेवा दिन सकिरहेका छैनन्।
उदाहरणका लागि ३०० बेडको जनकपुर प्रादेशिक अस्पतालमा हाल करिब ४०० जनशक्ति कार्यरत छन्। संघीय सरकारको ओएनएम अनुसार भने ७३५ जनशक्ति आवश्यक पर्छ। तीमध्ये स्थायी दरबन्दीमा करिब ८० जनामात्र छन्। बाँकी करार, ज्यालादारी र डोर हाजिरीका कर्मचारी हुन्। ‘कम जनशक्तिमा सेवा दिन निकै चुनौतीपूर्ण छ। तर पनि जेनतेन धानिरहेका छौं,’ अस्पतालका निर्देशक डा. सिंह भन्छन्।
प्रादेशिक अस्पतालले हरेक वर्ष ओएनएम गरेर रिक्त दरबन्दी परिपूर्ति गरिदिन मन्त्रालयलाई पत्राचार गर्दै आए पनि सुनुवाइ नहुने गुनासो छ। यही अवस्था मधेश सरकार मातहतका अन्य स्वास्थ्य निकायमा पनि देखिन्छ।
मधेशमा जनकपुरसहित जलेश्वर, सिरहा, लहान, मलंगवा, गौर र कलैया गरी सातवटा प्रादेशिक अस्पताल छन्। तीमध्ये जनकपुरबाहेक अन्य अस्पताल सुरुमा १५ बेडका थिए। दुई वर्षअघि स्तरोन्नति गरी सिरहालाई १५० र अन्यलाई १०० बेडको स्वीकृति दिइए पनि स्थायी दरबन्दी भने १५ बेडकै कायम छ। बाँकी सबै करार र ज्यालादारी कर्मचारीको भरमा अस्पताल सञ्चालन भइरहेका छन्।
यस्तै, धनुषाको डुमरिया, सर्लाहीको धनकौल र पर्साको पोखरिया अस्पतालमा ५० बेडको स्वीकृति भए पनि ती अस्पतालहरू करार कर्मचारीकै भरमा चलेका छन्। प्रदेश मातहत स्थापना भएका स्थानीय प्रयोगशालाको अवस्था पनि उस्तै छ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म आफ्ना मातहतका निकायको ओएनएम तयार गर्न सकेको छैन। ओएनएमका आधारमा जनशक्ति पदपूर्ति गर्न लोकसेवा आयोगमा पत्राचारसमेत नगरेको स्पष्ट भएको छ। परिणामस्वरूप मधेश सरकार करार कर्मचारीको भरमा स्वास्थ्य क्षेत्र सञ्चालन गरिरहेको छ। यसले सेवा प्रवाह कमजोर बनाउनुका साथै करार भर्नामा पहुँच र चलखेल हुने आरोप पनि लाग्ने गरेको छ।
यस वर्ष माग आकृति फाराम किन आयोगमा नपठाइयो भन्ने प्रश्नमा मन्त्रालयकी प्रशासन शाखा अधिकृत सुस्मिता शर्माले विभिन्न समस्या रहेको बताइन्। उनका अनुसार विगतमा लोकसेवाबाट आएका केही कर्मचारी फाजिल परेका, केही विवादित भई मुद्दा चलिरहेको तथा माग गर्ने निकायबाट विवरण नआएकाले यसपटक फाराम नपठाइएको हो।
स्वास्थ्य मन्त्रालयले स्थापनाकालदेखि अहिलेसम्म मन्त्रालयबाहेक अन्य निकायको ओएनएम नगरेको पनि खुलेको छ। ओएनएमका लागि बजेट छुट्याइए पनि कार्यान्वयन हुन सकेको छैन। गत आर्थिक वर्ष २०८१/०८२ मा ओएनएमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि काम अघि बढेन। यस वर्ष पनि १० लाख रुपैयाँ बजेट राखिएको छ।
मन्त्रालयका उपसचिव राजेशकुमार मिश्रका अनुसार सचिवको जिम्मेवारी बारम्बार फेरिँदा ओएनएममा समस्या आएको हो। सचिव डा. प्रमोद यादवले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृति पाएपछि मात्र ओएनएम प्रक्रिया अघि बढाइने बताए।
समग्रमा, मधेश प्रदेशको स्वास्थ्य क्षेत्र गम्भीर जनशक्ति संकटमा रहेको र सरकारकै ढिलासुस्तीले नागरिक प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको तथ्य यस घटनाले उजागर गरेको छ।











