सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटमा गत आइतबार घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको घटना हत्या भएको पुष्टि भएको छ। प्रारम्भिक रूपमा आगलागीमा जलेर मृत्यु भएको भनिए पनि अनुसन्धानपछि सासु र नन्दले योजनाबद्ध रूपमा हत्या गरेको रहस्य खुलेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आइतबार दिउँसो करिब साढे ४ बजे साँढे दुईतले घरको बीचको तलामा रहेको भान्सा कोठामा सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा मृतककी ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा नन्द मीना लामाले सुशीलामाथि पेट्रोल छर्केर आगो लगाई हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए। घटनास्थलमै सुशीलाको मृत्यु भएको थियो। घटनास्थलबाट पेट्रोल भरिएका दुईवटा बोतल, लाइटर र आगो सल्काउन प्रयोग गरिएको बाँसको राको (पुल्ठो) समेत फेला परेको प्रहरीले जनाएको छ।
सुशीलाको मृत्युपछि उनका बुबा हरिहरपुरगढी गाउँपालिका-४ निवासी प्रेमबहादुर घिसिङले सासु मायारानी बम्जन, नन्द मीना लामा र ससुरा दुर्गामान बम्जनलगायतविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरी दर्तापछि प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरेको छ।
घटनामा सुशीलाका ६२ वर्षीय ससुरा दुर्गामान बम्जन पनि घाइते भएका छन्। सुशीलाको शरीरमा लागेको आगो निभाउने क्रममा उनी पनि जलेर घाइते भएका थिए। उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ। सिन्धुली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
पीडित पक्षका अनुसार सुशीलामाथि पछिल्ला ६–७ वर्षदेखि सासु, ससुरा र नन्दले निरन्तर शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए। उनलाई खान नदिने, मोबाइल प्रयोग गर्न रोक लगाउने र विदेशमा रहेका श्रीमानसँग सम्पर्क गर्नसमेत नदिने गरिएको परिवारजनको आरोप छ। मृतक सुशीलाका श्रीमान सूर्य बम्जन वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन्।
स्थानीयका अनुसार घटनाको समयमा सुशीलाले चिच्याएर बचाउन हारगुहार मागेकी थिइन्। तर घरको मूलगेटमा ताल्चा लगाइएको हुँदा बाहिरबाट उद्धार हुन सकेन। नन्द मीना घरको गल्लीमा उभिएको र सासु घरको बरन्डामा बसेको अवस्थामा भेटिएको बताइएको छ।
मृतक सुशीलाको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै आफन्तले जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका थिए भने मंगलबार बीपी राजमार्गसमेत केही समय अवरुद्ध गरेका थिए।
यस घटनाप्रति जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठनहरूले पनि ध्यानाकर्षण जनाएका छन्। उनीहरूले मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै दोषीलाई कडा कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन्।
सात वर्षका तिम्ल्याहा सन्तान (दुई छोरा र एक छोरी) की आमा सुशीलाको निर्मम हत्याले सिन्धुलीमाढी क्षेत्र शोक र आक्रोशमा डुबेको छ।









