विषयगत शिक्षक अभावमा बैरियाका विद्यार्थी आन्दोलनमा, विद्यालयमा तालाबन्दी र नगरपालिकामा घेराउ


महोत्तरी। महोत्तरीको औरही नगरपालिका-६ स्थित श्री माध्यमिक विद्यालय बैरियामा विषयगत शिक्षक अभावका कारण विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। कक्षा ८ देखि १० सम्म अंग्रेजी, विज्ञान र सामाजिक विषयको पढाइ विगत छ महिनादेखि ठप्प भएपछि आइतबार विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गर्नुका साथै औरही नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

आन्दोलनरत विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख, उपप्रमुख तथा नगर शिक्षा शाखाका पदाधिकारीसमक्ष आफ्ना मागहरू राखेका थिए। कक्षा १० मा अध्ययनरत विद्यार्थीका अनुसार लामो समयदेखि अंग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ। शिक्षकको माग गर्दै कक्षा ८ देखि १० सम्मका करिब २५-३० जना विद्यार्थी बैरियाबाट पैदलै औरही नगरपालिकाको कार्यालयसम्म पुगेका थिए।

विद्यार्थीहरूले वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकसमक्ष पटक–पटक विषयगत शिक्षकको माग गर्दा पनि चासो नदिइएकाले बाध्य भएर तालाबन्दी र आन्दोलन गर्नुपरेको बताएका छन्। एसईई परीक्षा आउन अढाई महिना मात्र बाँकी रहँदासमेत नियमित पठनपाठन हुन नसकेको उनीहरूको गुनासो छ।

आन्दोलनका क्रममा विद्यार्थीहरूले तीन बुँदे माग अघि सारेका छन्। उनीहरूले प्राध्यापक शत्रुधन यादवको सरुवा तथा शिक्षक महेश ठाकुरलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरणको व्यवस्था कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन्। केही शिक्षकले गलत तरिकाले बोल्ने र दुर्व्यवहार गर्ने गरेको आरोप पनि छात्राहरूले लगाएका छन्।

आन्दोलनरत विद्यार्थीहरूसँग नगरपालिकाको शिक्षा शाखा संयोजक धनबहादुर राई र वडा अध्यक्ष सुशील चौधरीले छलफल गरी गुनासो सुनेका थिए। छलफलका क्रममा शिक्षा शाखा संयोजक राईले १५ दिनभित्र शिक्षक अभावको समस्या समाधान गरिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई घर फर्किन आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको