५०औँ जन्मदिनमा हिरा गौतमद्वारा ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना


५ पौष, बर्दिवास – अनिशा पौडेल/जीवन राज दाहाल। समाजप्रतिको उत्तरदायित्वलाई जन्मदिनसँग जोड्दै समाजसेवी तथा गौतम होटलका अध्यक्ष हिरा गौतमले शिक्षाको क्षेत्रमा दीर्घकालीन योगदान दिने उद्देश्यसहित ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना गरेका छन्। आफ्नो ५०औँ जन्मदिनको अवसरमा उनले रु. ३ लाख ११ हजार १११ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्दै कार्यक्रम सम्पन्न गरेका हुन्।

बर्दिवास-१४ स्थित धुर्मुसुन्तली (एकीकृत नमुना) मुसहर बस्तीका बालबालिकाको शिक्षा तथा बस्ती सुधारमा सहयोग पुर्‍याउने लक्ष्यसहित स्थापना गरिएको उक्त कोष “तपाईं हाम्रो अभियान, शिक्षामा योगदान” भन्ने मूल नाराका साथ अघि बढाइएको आयोजकले जनाएको छ। गौतम होटलको पहलमा स्थापना भएको यस अक्षय कोषले पछाडि पारिएका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

होटेल परिसरमा राखिएको दान पेटी (Donation Box) मा संकलित रकम अपेक्षाकृत कम रहेकाले आवश्यक रकम गौतम होटल परिवारले थप गरी अक्षय कोषमा जम्मा गरिएको हो। साथै, आजदेखि आगामी वर्षहरूमा दान पेटीमा रकम संकलन भए वा नभए पनि प्रत्येक वर्ष गौतम होटल परिवारको तर्फबाट रु. १ लाख सहयोग गर्ने प्रतिबद्धता गरिएको छ।

अक्षय कोष स्थापनाबारे जानकारी दिँदै अध्यक्ष हिरा गौतमले भने,

“यो अक्षय कोषको परिकल्पना धुर्मुसुन्तली मुसहर बस्ती निर्माणकै समयदेखि बालबालिकाको उज्ज्वल भविष्यका लागि गरिएको हो। विगत तीन वर्षदेखि हामीले सम्भव भएसम्म रकम संकलन गर्दै आएका छौँ।”

उनले यसअघि पनि बस्तीका बालबालिकाका लागि न्यानो कपडा तथा कापी-कलम वितरण गरिएको स्मरण गराउँदै आगामी दिनमा पनि शिक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग निरन्तर गरिने बताए।

कार्यक्रममा सहभागी अतिथि, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणले हिरा गौतमलाई ५०औँ जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै व्यक्तिगत अवसरलाई सामूहिक हित र शिक्षाजस्तो संवेदनशील क्षेत्रमा जोड्नु उदाहरणीय कदम भएको प्रतिक्रिया दिएका थिए। वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै, यस प्रकारका अक्षय कोषले मुसहर बस्तीका बालबालिकालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रम बर्दिवासस्थित गौतम होटलको सभाहलमा सम्पन्न भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको