मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाए


४ पुस, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाको सिंगो सदनबाट विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभा बैठकमा सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले उनलाई विश्वासको मत दिएका हुन्।

सत्तापक्षीय सम्पूर्ण दलसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेतका दलले मुख्यमन्त्री यादवलाई समर्थन गरेका छन्। बैठक उपसभामुख बबिता राउत इशरको अध्यक्षतामा सञ्चालन भएको थियो। उपसभामुख इशरले यादवले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्।

नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनका घटक दलहरू-जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन्। यस्तै, सत्ता बाहिर रहेका एक–एक सिट भएका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन्।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंसिर २१ गते पद तथा गोपनियताको शपथ लिँदै सोही दिन नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए। त्यसपछि मंसिर २९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराएका थिए।

हाल मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्यीय छ भने ६ वटा मन्त्रालयले अझै पूर्णता पाउन बाँकी छ। विश्वासको मत प्राप्त भएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनमा भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ। हाल प्रदेशसभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ।

यसअघि दोस्रो कार्यकालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले २९ जेठ २०८० मा पनि सिंगो सदनबाट विश्वासको मत पाएका थिए। सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८(३) बमोजिम बनेका एमालेका मुख्यमन्त्री सरोजकुमार यादवले गत मंसिर १७ गते विश्वासको मत लिन बोलाइएको सदनमा मत नपाउने देखिएपछि राजीनामा दिएका थिए।

त्यसअघि गत असोज २९ गते छदलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका लोसपाका नेता जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका थिए। साथै, जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सतीशकुमार सिंहले पनि असोज २८ गते विश्वासको मत नपाउने देखिएपछि पदबाट राजीनामा दिएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको