४ पुस, सप्तरी – चन्दन रजक। सप्तरीको एक नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा गम्भीर गडबडी भएको आरोप लागेपछि विद्यालय परिसर तनावग्रस्त बनेको छ। बलानविहुल गाउँपालिका वडा नं–६ मा रहेको जागेश्वर गरहाई जनता नमुना माध्यमिक विद्यालयमा सम्पन्न अभिभावक भेलाको माइन्युट नै गायब गरिएको भन्दै स्थानीय अभिभावकहरूले आपत्ति जनाएका छन्।
गत मंसिर २९ गते सोमबार विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला बोलाइएको थियो। तर भेलामा वडाध्यक्ष सूर्यकुमार दास र प्रधानाध्यापक महेशकुमार साहको मिलेमतोमा प्रक्रिया विपरीत समिति गठन गर्न खोजिएको, उपस्थित अभिभावकलाई झुक्याएर हस्ताक्षर गराइएको र बैठकबाटै माइन्युट पुस्तिका गायब गरिएको आरोप लगाइएको छ। माइन्युट हराएपछि विद्यालयमा तनावको अवस्था सिर्जना भएको हो।
बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यायप्रेमी संघर्षशील अभिभावक समूहका अगुवा तथा पूर्व प्रधानाध्यापक दिनेश्वर प्रसाद यादवले विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक हस्तक्षेप बढ्दै गएको बताए। उनले शिक्षा क्षेत्रलाई विवादित बनाउने यस्ता कार्य स्वीकार्य नहुने उल्लेख गर्दै समिति निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले गठन गर्नुपर्ने माग राखे।
अभिभावक भेलामा सहभागी पनाय यादवले माइन्युट गायब भएको भोलिपल्ट विद्यालयका लेखापालले माइन्युटमा हस्ताक्षर गर्नुपर्ने जानकारी दिएपछि आफू वडाध्यक्षको घर पुगेको बताए। तर त्यहाँ हस्ताक्षर गर्न दबाब दिइएकाले बिना हस्ताक्षर फर्किएको उनको भनाइ छ। पारदर्शिता नभएसम्म आफू व्यवस्थापन समितिमा सहभागी नहुने र पुनः बैठक बोलाई प्रक्रिया अनुसार समिति चयन गर्नुपर्ने उनको अडान छ।
विवाद चर्किएपछि प्रधानाध्यापक साह मंसिर २९ गतेयता विद्यालय नआएको बताइएको छ। उनले शिक्षक रामबाबु यादवलाई फोनमार्फत विद्यालय सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ। हाल निमित्त प्रधानाध्यापकका रूपमा विद्यालय सञ्चालन गरिरहेका यादवले विद्यालयको दराज तथा स्टोरको साँचो आफूलाई जिम्मा नदिइएकाले विवादित माइन्युट पुस्तिका विद्यालयमै छ वा छैन भन्नेबारे जानकारी नभएको बताएका छन्।
विद्यालयमा व्यवस्थापन समिति नहुँदा शैक्षिक गतिविधि प्रभावित हुन थालेको भन्दै स्थानीय अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले समयमै समिति गठन गरी विद्यालयको शैक्षिक वातावरण जोगाउन सरोकारवालासँग आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कांग्रेस नेता नवीन कुमार झाले व्यवस्थापन समिति चयनबारे वास्तविक विवाद देखिएको भन्दै यसलाई समयमै समाधान गरी विद्यालयलाई निकास दिनुपर्ने बताए।
त्यस्तै, स्थानीय अभिभावक रामकुमार यादवले विद्यालयका महत्वपूर्ण कागजातमध्ये एक माइन्युट पुस्तिका गायब हुनु गम्भीर विषय भएको बताए। उनले दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरे।
पत्रकार सम्मेलनमा सहभागी अभिभावकहरूले व्यवस्थापन समितिको माइन्युट विद्यालय बाहिर लैजानु, घरमै बसेर लेख्नु वा हस्ताक्षर गराउन खोज्नु गम्भीर प्रशासनिक अनियमितता भएको आरोप लगाए। उनीहरूले वडाध्यक्ष सूर्यकुमार दास र प्रधानाध्यापक महेशकुमार साहको मिलेमतोमा माइन्युट गायब पारिएको दाबी गर्दै सम्बन्धित निकायबाट तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
हाल विद्यालयमा अध्ययनरत करिब एक हजार एक सय विद्यार्थीको पठनपाठन प्रभावित हुने जोखिम बढेकाले समयमै समस्या समाधानतर्फ सबै सरोकारवाला निकायको ध्यान जानु आवश्यक देखिएको छ।









