३ पुस, बर्दिबास – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बिहीबार बर्दिवास नगरपालिकामा भव्य रूपमा स्वागत गरिएको छ। बर्दिवास नगरपालिकाको आयोजनामा आयोजित विशेष स्वागत कार्यक्रममार्फत मुख्यमन्त्री यादवलाई नगरपालिकामा स्वागत गरिएको हो।
कार्यक्रममा नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले मुख्यमन्त्री यादवलाई फूलमाला र सम्मानसहित स्वागत गर्दै बर्दिवास नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यबाट मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकासका क्षेत्रमा बर्दिवास नगरपालिकाले गरेका प्रयासहरूको प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा नगर प्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाका प्राथमिकता, चालु विकास योजनाहरू तथा भविष्यका आवश्यकताबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै प्रदेश सरकारको सहयोग अपेक्षित रहेको उल्लेख गरे।
स्वागत कार्यक्रमपछि मुख्यमन्त्री यादव बर्दिवास नगरपालिका वडा नम्बर-६ स्थित किसाननगरमा ट्रासोल इनर्जीले आयोजना गरेको भूमि पूजन कार्यक्रममा सहभागी भएका थिए।









