सडक दुर्घटनापछि आक्रोश : बर्दिवास-जलेश्वर सडक चार घण्टा अवरुद्ध, सहमतिपछि खुल्यो


महोत्तरी। महोत्तरीको औरही नगरपालिका-८ टिम्कियामा भएको सडक दुर्घटनापछि आक्रोशित स्थानीय युवाहरूले मंगलबार बिहान बर्दिवास-जलेश्वर सडकखण्डमा टायर बालेर चक्का जाम गरेका छन्। बिहान करिब १० बजेदेखि सुरु भएको अवरोध सहमतिपछि करिब चार घण्टापछि हटाइएको हो।

सोमबार राति करिब ८:३० बजे बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश-२-०२००४ प ७२२२ नम्बरको मोटरसाइकलले औरही नगरपालिका-८ निवासी ४५ वर्षीय शिवजी दयाल यादवलाई ठक्कर दिएको थियो। गम्भीर घाइते यादवको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक लोहरपट्टी नगरपालिका-३ तपनपुर निवासी १८ वर्षीय आतिस कुमार यादव र पछाडि सवार सोही स्थानका १८ वर्षीय अमन यादवलाई इलाका प्रहरी कार्यालय रामगोपालपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीय युवाहरूले मृतकको शव शीघ्र परिवारको जिम्मा लगाउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए। साथै औरही नगरपालिका-८ भित्रको सडक फराकिलो बनाउने, सीसीटीभी जडानका लागि बजेट व्यवस्था गर्ने, प्रत्येक विद्युत् पोलमा सडकबत्ती तथा रिफ्ल्यासिङ ट्राफिक लाइट जडान गर्ने, बर्दिवास–जलेश्वर सडकखण्डको नाला सरसफाइ गर्ने र टिम्कियादेखि श्रीपुर जाने सडकको बीच भागमा गोलचक्कर निर्माण गर्नुपर्ने माग अघि सारेका थिए।

आन्दोलनकारीहरूले औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्कालाई सातबुँदे ज्ञापनपत्र बुझाएपछि मागहरूमा सहमति जुटेको जनाइएको छ।

सहमतिपछि नगरप्रमुख खड्काले पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै कानुनी प्रक्रियाअनुसार क्षतिपूर्तिका लागि पहल गरिने र दोषीमाथि कडा कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रतिबद्धता जनाए। उनले औरही नगरपालिका-८ भित्रका सडकहरू चरणबद्ध रूपमा फराकिलो बनाइने, सीसीटीभी जडान, सडकबत्ती तथा रिफ्ल्यासिङ ट्राफिक लाइट व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिने बताए।

बर्दिवास-जलेश्वर सडकखण्डको नाला सरसफाइ तथा टिम्किया-श्रीपुर जोड्ने मार्गको बीच भागमा गोलचक्कर निर्माण नगरपालिकाको अधिकारक्षेत्रभित्र नपर्ने भएकाले सडक विभागसँग समन्वय गरी पहल गरिने नगरप्रमुख खड्काले स्पष्ट पारे।

नगरप्रमुखको प्रतिबद्धतापछि अवरुद्ध बर्दिवास-जलेश्वर सडकखण्ड सञ्चालनमा आएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको