काठमाडौं। ज्योति विकास बैंकका कर्मचारीलाई कालो मोसो दलेर जुत्ताको माला लगाई गालीगलौज तथा दुर्व्यवहार गरेको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा दर्ता गरिएको जाहेरी स्वीकार गरिएको छ। ऋण असुलीका विषयमा छलफल गर्न गएका बैंकका कर्मचारीलाई ऋणी र केही स्थानीयले अमानवीय व्यवहार गरेका थिए।
घटनापछि सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरे पनि अन्ततः जाहेरी दर्ता भएको हो। प्रहरीले बैंकबाट जाहेरी प्राप्त भएको पुष्टि गरेको छ भने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालले पनि जाहेरी दर्ता भएको जानकारी दिएका छन्।
जाहेरी दर्ता भएपछि प्रहरीले ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। सो घटनाको जिम्मेवारी लिएका दुर्गा प्रसाईं निकट ऋणी एसोसिएसनका अध्यक्ष देवी संग्रौलाले आफ्ना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्। पक्राउ पुर्जी जारी भएपछि संग्रौलाले बैंक घेराउ गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको बताइएको छ।
यस घटनापछि देशभर चौतर्फी विरोध भइरहेको छ। बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारको विभिन्न बैंक तथा व्यावसायिक संघ-संस्थाले निन्दा गरेका छन्। बैंकहरूले विज्ञप्ति जारी गर्दै घटनाको कडा भ्रत्सना गरेका छन्। घटनापछि बैंकर समुदाय त्रसित भएको बताइएको छ।
यता ऋणी पक्षले भने सम्पत्ति लिलामीको प्रक्रिया स्थगन गर्ने भनी बैंकले पत्र दिएको दाबी गर्दै, त्यसपछि पुनः आफूहरूलाई दबाब र मानसिक यातना दिएको आरोप लगाएका छन्। बैंक पक्षले भने सुरुमा प्रहरीले सहयोग नगरेको र कर्मचारीलाई ज्यान मार्ने धम्कीसमेत आएपछि बाध्य भएर लिलामी प्रक्रिया स्थगनसम्बन्धी पत्र लेख्नुपरेको दाबी गरेको छ।









