लालबन्दीबाट २१२ ग्राम हिरोईनसहित ३४ वर्षीय लामिछाने पक्राउ


सर्लाही। प्रतिबन्धित लागुऔषध हिरोईन बरामदसँग सम्बन्धित घटनामा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका-५ बाट २१२ ग्राम हिरोईन जस्तो देखिने सेतो धुलो पाउडरसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२/०८/२७ गते साँझ करिब ६ बजे लालबन्दी-५ डाँडा टोलस्थित सुवास लामिछानेको नवनिर्माणाधीन घरमा लागुऔषध लुकाइछिपाइ राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। घरधनी इश्वरपुर नगरपालिका-३ भक्तिपुर स्थायी घर भई हाल लालबन्दी-५ मा बसोबास गर्दै आएका ३४ वर्षीय सुवास लामिछानेलाई खानतलासीसम्बन्धी सूचना पुर्जी दिई भुइँतलाका कोठाहरू तलासी लिइएको थियो।

तलासीका क्रममा पश्चिम-दक्षिणतर्फ रहेको कोठाको पूर्वी देवालमा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा हिरोईन जस्तो देखिने सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थ २१२ ग्राम रहेको पुष्टि भएको थियो।

बरामद प्रतिबन्धित लागुऔषधसहित सुवास लामिछानेलाई नियन्त्रणमा लिई सम्मानित अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको