आगलागीले यातायात कार्यालय बाँकेमा ठूलो क्षति,


२८ मंसिर, बाँके। जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन्।

आगलागीपछि सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गरिरहेको छ। कार्यालयका निमित्त प्रमुख कालिदास बस्यालका अनुसार आगजनीबाट सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली र फर्निचरमा व्यापक क्षति पुगेको छ।

‘भौतिक संरचनाभन्दा पनि कागजातको क्षति गम्भीर छ। करिब ९५ प्रतिशत अभिलेख जलेका छन्,’ प्रमुख बस्यालले भने। अस्थायी संरचनाबाट सेवा दिँदा स्थान अभाव, सीमित काउन्टर, प्रविधिगत समस्या र सेवाग्राहीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

यद्यपि, सीमित स्रोतसाधनबीच पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर सङ्कलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्। ‘सेवाग्राहीलाई असुविधा नहोस् भन्ने प्रयास निरन्तर छ,’ उनले बताए।

कागजात नष्ट भएपछि अभिलेख पुनःनिर्माण अर्को ठूलो चुनौती बनेको भए पनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित विवरणले राहत दिएको प्रमुख बस्यालले जानकारी दिए। ‘लाइसेन्स र सवारी दर्तासम्बन्धी धेरै विवरण डिजिटल रूपमा सुरक्षित रहेकाले त्यसैको आधारमा अभिलेख पुनःनिर्माण अघि बढाइएको छ,’ उनले भने। सेवाग्राहीसँग उपलब्ध प्रतिलिपि र अन्य कार्यालयका अभिलेखको सहायताले पुनःप्रमाणिकरण गरिने पनि उनले स्पष्ट पारे।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सिसिटिभी जडान तथा सुरक्षा व्यवस्था सुदृढ बनाउने योजना अघि सारिएको छ। यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ।

‘स्थायी पुनर्निर्माणका विषयमा प्रदेश सरकार र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ,’ प्रमुख बस्यालले भने, ‘क्षति मूल्याङ्कनको विस्तृत प्रतिवेदनपछि नयाँ भवन निर्माण र बजेट विनियोजन प्रक्रिया अघि बढ्ने अपेक्षा छ।’ स्थायी संरचना तयार नहुन्जेल अस्थायी कार्यालयबाटै सेवा सञ्चालन हुने उनले जानकारी दिए।

अस्थायी अवस्थाका कारण केही असुविधा भए पनि कार्यालयले सेवाग्राहीलाई संयम अपनाउन आग्रह गरेको छ। ‘कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ,’ प्रमुख बस्यालले भने। उनका अनुसार सुदूरपूर्व ताप्लेजुङ र इलामबाट समेत सेवाग्राही बाँकेको यातायात कार्यालयमा सेवा लिन आउने गरेका छन्।

अस्थायी कार्यालयमा आएका केही सेवाग्राहीले व्यवस्थापन र कर्मचारीको सहयोगको प्रशंसा गरेका छन् भने केहीले असन्तुष्टि व्यक्त गरेका छन्। यसलाई ध्यानमा राख्दै कार्यालयले सेवाग्राहीलाई आवश्यक कागजात तथा डिजिटल प्रतिलिपि लिएर आउन सुझाव दिएको छ।

कार्यालयका अनुसार सवारी दर्ता तथा लाइसेन्स नवीकरणमा सेवाग्राहीलाई क्रमबद्ध रूपमा सेवा दिने व्यवस्था मिलाइएको छ, जसले समय बचत र चाप व्यवस्थापनमा मद्दत पुगेको छ। आगामी वर्षसम्म सबै अभिलेख पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने योजना पनि अघि सारिएको कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको