पूर्वपश्चिम राजमार्ग विस्तारका लागि महोत्तरीसहित तीन जिल्लामा ११ हजारभन्दा बढी रुख कटान हुने


२४ मंसिर, बर्दिबास। पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ। कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार डिभिजन वन कार्यालय, वन तथा भूसंरक्षण विभाग हुँदै वन तथा वातावरण मन्त्रालयसम्मको सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख कटानको आदेश प्राप्त भएको हो।

उनका अनुसार महोत्तरी, धनुषा र सर्लाही गरी तीन जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटानको आदेश आएको छ। सर्लाहीमा ३ हजार ६७४, धनुषामा १ हजार ८७६ र महोत्तरीमा ६ हजार २७ रुख कटान हुनेछ।

सडक विस्तारका क्रममा सबैभन्दा धेरै सालका रुख हटाइने प्रमुख दासले जानकारी दिए। विस्तार योजनाअनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र ग्रामीण क्षेत्रमा ४ लेनसहित १८ मिटर चौडाइ कायम गरिने छ।

आयोजना प्रमुख दासका अनुसार बिजुलीका पोल सार्ने र खानेपानी पाइप बिछ्याउने कार्य पनि परियोजनाका प्रमुख चुनौती बनेका छन्। धनुषा र सर्लाहीमा रुख कटान सुरु भइसकेको छ भने महोत्तरीमा पनि चाँडै काम सुरू हुने उनले जनाए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको