२३ मंसिर, बर्दिवास। स्थानीय संघ-संस्थाहरु सामूहिक जीवनस्तर समृद्ध र सामाजिक रुपान्तरणका आधारका रूपमा स्थापित हुनु पर्नेमा बर्दिवासमा पछिल्ला वर्षहरूमा देखिएको अराजकता, राजनीतिकरण र स्वार्थका खेलले ती संस्थाहरू कमजोर बन्दै गएको भन्दै बर्दिवास उद्योग वाणिज्य संघका निर्वाचित सचिव शैलेश दाहालले गम्भीर ध्यानाकर्षण गराएका छन्।
दाहालले जारी गरेको विज्ञप्तिमा आफू संघको सचिव हुँदै पनि संगठनभित्र देखिएको गम्भीर विचलन, दलविशेषको पहुँच जमाउने प्रवृत्ति र सक्षम तथा शिक्षित युवाहरूलाई ओझेल पारिने संस्कारले संस्थाको उद्देश्य नै कमजोर बनेको उल्लेख गरेका छन्। उनका अनुसार ठिक-बेठिक छुट्याउने विवेकसमेत अपहरण हुने वातावरणले सामुदायिक संस्था अराजक, मनमौजी र व्यक्तिगत स्वार्थको अखडा बन्दै जानु दुःखद छ।
सचिव दाहालले आफूले निर्वाह गर्नुपर्ने पदीय दायित्व र व्यापारिक हितका लागि काम गर्ने भूमिकामा पुरातन सोच तथा यथास्थितिवादी संस्कारले अवरोध गरेको अनुभव सुनाउँदै सामाजिक तथा सामुदायिक भावनामा आधारित संस्थाहरूले विकृति चिर्न र जागरण फैलाउन नसक्नु आजको मुख्य समस्या रहेको बताए।
उनका अनुसार नेतृत्वले पदिय कार्यभार फराकिलो बनाउने होइन, उल्टै साँघुरो बनाउँदै व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिले कतै राजनीतिक विभाजन बढाउँदै छ भने कतै सामाजिक एकता नै कमजोर बनाइरहेको छ, जसले बर्दिवासमा थप समस्याहरू जन्माइरहेको छ।
निकट भविष्यमा बर्दिवास उद्योग वाणिज्य संघको साधारणसभा नजिकिँदै गर्दा आफ्नो ध्यानाकर्षणले धेरै प्रश्न उब्जिनु स्वाभाविक भए पनि जिम्मेवार पदाधिकारीका हैसियतले उठाइएका प्रश्न गम्भीर कारणसहित नै भएको दाहालले स्पष्ट पारेका छन्।
संस्थामा परिवर्तन, सुधार र नयाँ संस्कार आवश्यक रहेको उल्लेख गर्दै उनले आवश्यक परे सचिवको भूमिकाबाट अलग हुनसमेत तैयार रहेको बताएका छन्।
अन्त्यमा दाहालले सबै संघ-संस्थामा सकारात्मक संस्कारको स्थापना, रुपान्तरण र खवरदारीको भावना बलियो बनाउन आग्रह गरेका छन्।









