२१ मंसिर, विराटनगर। मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले छिमेकी एक व्यक्तिलाई पक्राउ गरेको छ।
असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा मृत फेला परेकी थिइन्। घटनाले स्थानीय समुदाय स्तब्ध बनेको थियो।
लगभग दुई महिना लामो अनुसन्धानपछि प्रहरीले अन्दाजी ५० वर्षीय छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले स्रोतहरूले जनाएका छन्। यद्यपि, प्रहरीले औपचारिक रूपमा गिरफ्तारीबारे घोषणा गरेको छैन।
मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बताए। केही तथ्य अझै खुल्न बाँकी रहेको उनले उल्लेख गरे।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घटनाको दिन नै अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन्। हत्याको कारण भने प्रहरीले खुलाएको छैन तर पारिवारिक रिसिइबी मुख्य कारण देखिएको बताइएको छ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत खटिएको थियो।









