बर्दिबासमा ‘चोको कुकिज’को बट्टाभित्र ५२ ग्राम खैरो हिरोइन सहित दुई जना पक्राउ


महोत्तरी। बर्दिबासमा प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गबाट बिपी राजमार्ग हुँदै सिन्धुलीतर्फ जाँदै गरेको प्र २–०२–००५–प ३१५९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो।

ब्युरो बर्दिबास शाखाका प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीका अनुसार मोटरसाइकलमा सवार दुई जनाले ‘रोमान्जो चोको लाभा कुकिज’ लेखिएको चकलेटको बट्टाभित्र ५२.८५० ग्राम खैरो हिरोइन लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर-६ का २६ वर्षीय विक्कीकुमार मिश्र र कास्की पोखराकी १६ वर्षीया नेहा परियार रहेका छन्। मिश्रले चलाएको मोटरसाइकलमा पछाडि बसेकी परियारले बोकिएको सेतो झोलामा राखिएको चकलेटको डिब्बाभित्र लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित दुवैलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको प्रहरी नायब निरीक्षक अधिकारीले जानकारी दिए।

बर्दिबास क्षेत्रमा लागुऔषध कारोबार र ओसारपसार बढ्दै गएको जनगुनासो बीच ब्युरो बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासले निगरानी कडा पारेका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको ब्युरोले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म पाँच क्विण्टलभन्दा बढी गाँजा तथा चक्की, सिरप, क्याप्सुल, चरेस र हिरोइनसहितका १० भन्दा बढी घटनामा कारबाही अघि बढाइसकेको छ।

प्रहरीका अनुसार बर्दिबास नगरक्षेत्रमा यस्ता गतिविधि गर्ने धेरैजना डेरा लिएर बस्ने गर्छन्। लागुऔषध नियन्त्रणमा प्रहरीको मात्र प्रयास पर्याप्त नभएकाले समुदायको सक्रिय सहकार्य आवश्यक रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी विकास बमले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको