बारा। बारामा पानी उद्योगका व्यवस्थापकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२२ मनियारीका २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह छन्।
मंसिर १२ गते सर्लाही धनकौल गाउँपालिका-२ घर भई बाराको पर्सौनी गाउँपालिका-६ भलुही चोकस्थित किरण वेभरेज प्रालिमा व्यवस्थापकका रूपमा कार्यरत रामकिशोर सिंहको शव उद्योग नजिकैको खोल्सामा हत्या गरिएको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार सिंह हत्याका मुख्य योजनाकार राजन उद्योगमै सवारी चालकका रूपमा काम गर्थे। उनी र सिंहबीच समय–समयमा विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। लगभग एक वर्षअघि गढीमाई मेलाका बेला राजनले चलाउने गाडीको कलज प्लेट जलेको विषयमा परेको विवादका कारण उनले काम छोडेका थिए। तर, गत कात्तिक १ गतेदेखि उनी पुनः काममा फर्किएका थिए।
उद्योगले तोकेको भन्दा बढी मूल्य लिएर पानी बेच्ने गरेको थाहा पाएपछि व्यवस्थापक सिंहले मंसिर १० गते राजनलाई कामबाट हटाएका थिए। त्यही रिसले मंसिर ११ गते साँझ राजनले वीरगञ्जमा साथी प्रमोदसँग मदिरा सेवन गर्दै हत्याको योजना बनाएको प्रहरीको दाबी छ।
दुवैले वीरगञ्जबाट घरेलु हतियार लिएर उद्योगभित्रै सिंहको छुरा र इँटाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि भारततर्फ भाग्ने तयारीमा रहेकाहरूलाई सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो।
मुख्य योजनाकार राजनलाई पर्साको भिस्वा नाकामार्ग हुँदै भारत भाग्न लाग्दा छिपहरमाई गाउँपालिका-५ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सहअभियुक्त प्रमोद भने वीरगञ्ज महानगरपालिका-२२ बाट पक्राउ परेका हुन्।
‘पर्सा प्रहरीको समन्वयमा घटना भएको १६ घण्टाभित्रै दुवै अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएका छौँ,’ जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









