गौशाला-८ को शान्ति सामुदायिक वनमा अवैध रूपमा बनेको घर हटाइयो


गौशाला। महोत्तरीको गौशाला नगरपालिका-८ स्थित शान्ति सामुदायिक वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएको घरलाई शुक्रबार वन प्रशासनले हटाएको छ। टुटेश्वरनाथ सव-डिभिजन वन कार्यालय र सशस्त्र वन सुरक्षा शाखा माइस्थानको संयुक्त टोलीले वन क्षेत्र अतिक्रमण गरेर निर्मित संरचना भत्काउँदै वन भू-भागलाई अतिक्रमणमुक्त बनाएको हो।

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख अजय मिश्रका अनुसार सामुदायिक वनकै अध्यक्ष युगल किशोर महतोले वनभूमि अतिक्रमण गरी घर निर्माण गरेको प्रारम्भिक सूचना प्राप्त भएपछि स्पष्टिकरण माग्ने तयारी भइरहेको छ। “हामीले सव–डिभिजनलाई आवश्यक प्रक्रिया अघि बढाई स्पष्टिकरण सोध्न निर्देशन दिएका छौँ,” प्रमुख मिश्रले बताए।

टुटेश्वरनाथ सव-डिभिजन वन कार्यालयका वन अधिकृत राकेश विकको नेतृत्वमा गएको टोलीले अनधिकृत संरचना भत्काउने कार्य सम्पन्न गरेको थियो। वन क्षेत्रमा भइरहेका अवैध क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन जारी राखिने वन कार्यालयले जनाएको छ।

यसैबीच, सोही टोलीले बर्दिवास नगरपालिका-४ को टुटेश्वर गाउँमा छापा मारेर साल जातका चौकट पनि बरामद गरेको छ। वनका मूल्यवान काठ तथा सामग्रीको गैरकानुनी कारोबार रोक्न प्रमुख प्राथमिकता राखिएको कार्यालयले बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको