सिरहामा अन्तरजातीय प्रेम विवाह गर्ने युवक–युवतीलाई प्रहरीले रातभर थुनेर राख्यो


सिरहा। सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले रातभर थुनामा राखेको आरोप लागेको छ। सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृत कुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, गोलबजारमा थुनेर राखेको परिवारले दाबी गरेको छ।

अमृतलाई शुक्रबार राति करिब ११ बजे सिरहा-धनुषा सीमास्थित कमला नदीको पुल छेउबाट नियन्त्रणमा लिएर गोलबजार पुर्‍याइएको थियो। उनी रातभर हिरासतमा बसेका थिए। स्थानीय अगुवाको चासोपछि मात्र शनिबार साँझ उनलाई आफन्तको जिम्मामा छाडिएको हो। अमृतसँगै उनकी पत्नी, धनगढीमाई नगरपालिका-२ की २० वर्षीया कोसिका कुमारी साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी रातभर गोलबजारस्थित सेफ हाउसमा राखिएकी थिइन्।

एक वर्षदेखि प्रेममा रहेका दुवैलाई शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा विवाहका लागि लगिएको थियो। तर विवाह भइरहेका बेला युवतीका बुबा फुलगेन साहसहित १५-२० जनाको समूहले विवाद उत्पन्न गरेपछि प्रहरीले युवक-युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याएको थियो।

धनुषा प्रहरीले दुवैले उमेर पुगेको कागजात देखाई राजीखुसी विवाह गर्न चाहेको बताएपछि उनीहरूलाई युवकको परिवारको जिम्मा लगाइदिएको थियो। उनीहरूले आफूहरू असुरक्षित रहेको बताएपछि धनुषा प्रहरीले गाडीमै कमला पुलसम्म पुर्‍याए पनि सिरहातर्फ प्रवेश गर्नेबित्तिकै स्थानीय प्रहरीले फेरि नियन्त्रणमा लिएको अमृतकी आमा रूकमिनी मोचीले बताइन्।

‘हामी दलित भएकै कारण यसरी व्यवहार भयो,’ आमा रूकमिनीको आरोप छ। उनका अनुसार धनुषा प्रहरीले छाडिदिए पनि सिरहा प्रहरीले पुलमै छाडेर छोरा-बुहारीलाई जबर्जस्ती अपहरण शैलीमा लगेर थुनेर राख्यो।

तर सिरहा प्रहरीले भने शान्ति सुरक्षाका कारण दुवैलाई नियन्त्रणमा राखिएको दाबी गरेको छ। ‘दुवै पक्षबीच विवाद हुनसक्ने भएकाले सुरक्षाका लागि राखिएको हो,’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए, ‘यसमा अन्य केही कारण छैन।’

मधेश पुस्तकालयका संरक्षक आभाष गुरूले प्रहरीद्वारा व्यक्तिलाई विनाकारण थुनामा राख्नु गैरकानुनी कार्य भएको टिप्पणी गरेका छन्। ‘राज्य संयन्त्रमा उच्चजातीय अहंकार देखिने भएकाले दलितमाथि बारम्बार दमन हुन्छ,’ उनले भने, ‘सुरक्षाका नाममा थुनेर राख्नु घोर गैरकानुनी र लज्जास्पद व्यवहार हो।’

युवक-युवती दुवैलाई परिवारको जिम्मा लगाइए पनि उनीहरू अझै गोलबजार प्रहरी परिसरमै अड्किएका छन्। युवतीका बुबालगायतको समूह प्रहरी कार्यालयको गेटमा बसेको र बाहिर निस्के विवाह हुनसक्ने भएकाले छोड्न आनाकानी गरिरहेको स्थानीयले बताए। घरसम्म पुर्‍याइदिन आग्रह गर्दा पनि प्रहरीले नमानिरहेको उनीहरूको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको