वीरगन्ज। वीरगन्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।
सुरेन्द्र साह सीमापारी रक्सौलबाट वीरगन्ज आउँदै थिए। उनलाई मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६, रजत जयन्ती चोकस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो।
जाँचको क्रममा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखेको नेपाली १ हजार रुपैयाँका ७ सय नोट र ५ सय रुपैयाँका ६ सय नोट गरी कुल १० लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
साहसँग भएको रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उक्त नगद रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको छ। बरामद रकम अवैध कारोबार हुण्डीको रहेको बताइएको छ। हाल साह प्रहरी हिरासतमा रहेका छन् र अनुसन्धान जारी छ।










