बारा। बाराको पर्सौनी गाउँपालिका-६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालिमा कार्यरत एक व्यवस्थापकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
उद्योगमा कार्यरत सर्लाही धनकौलका ४२ वर्षीय रामनरेश सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। सिंहको शव वीरगञ्ज-कलैया सडकखण्डअन्तर्गत भलुही चोक नजिकैको खोल्सामा स्थानीयले देखेपछि शुक्रबार बिहान प्रहरीलाई सूचना दिएका थिए।
प्रारम्भिक अनुमानअनुसार बिहीबार राति हत्या भएको र उद्योग नजिकै शव भेटिएको ठाउँलाई आधार मानेर उद्योगभित्र हत्या गरी शव बाहिर फालिएको हुनसक्ने प्रहरीले संकेत गरेको छ।
मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा लगिएको प्रहरीले जनाएको छ। ‘भर्खरै शव पोष्टमार्टमका लागि ल्याइएको छ, घटनाबारे थप अनुसन्धान जारी छ,’ प्रवक्ता पण्डितले बताए।










