रौतहट। रौतहट जिल्लाको वृन्दावन नगरपालिका-९ भुसाहामा परिवारकै सदस्यहरूको संलग्नतामा एक महिलाको विभत्स हत्या भएको घटना सार्वजनिक भएको छ।
शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी घरमै भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले जानकारी दिनुभयो।
मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका लागि एक महिना अघि साउदी अरब गएका थिए। घटनापछि खातुनका ससुरा शेख अली मोहम्मद डेढ वर्षीय नाति मोहम्मद आरिफलाई लिएर फरार रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट खाडल खन्न प्रयोग गरिएको कुदाल बरामद गरिएको छ। खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।









