सर्लाही। सर्लाहीको बागमती नगरपालिका-११ रायमाझी चौक र पुरानो चौकी बीचको पूर्व-पश्चिम राजमार्गमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
मंसिर २ गते राति करिब ११:५५ बजे बागमतीबाट हरिवनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सेतो रंगको Hyundai कारले बागमती नगरपालिका-४, प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि न्युरो अस्पताल बीरगंज लगिएको थियो। तर उपचारका क्रममा मंसिर ३ गते बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ।
ठक्कर दिएर कार चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न कार सेतो रंगको Hyundai भएको पुष्टि भएकोले त्यसलाई चिनेका वा कतै देखे–बुझेका व्यक्तिहरूलाई तत्काल जानकारी गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ।
जानकारीका लागि सम्पर्क नम्बरहरूः १००, ९८५४०५६२२२, ९८५४०९०१९९१, ९८५४०९०१९९
(जानकारी दिने व्यक्तिको नाम गोप्य राखिनेछ)










