काठमाडौं। मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोड घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा पूर्व सांसद परमेश्वर साह र प्रदेश सांसद जिबेन्द्र झा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। नयाँ मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवादपछि उत्पन्न तनावका क्रममा उनीहरू कार्यालय तोडफोड र कर्मचारी कुटपिटमा सक्रिय रहेको आरोप छ।
प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेससहितका दलका सांसद तथा कार्यकर्ताहरूले तोडफोड, कुटपिट गर्दै राष्ट्रिय झण्डासमेत हटाउनेजस्ता गतिविधि गरेको आरोप लागेको थियो।
कुटपिटका घटनापछि नेपाल निजामती कर्मचारी युनियनले कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दोषीहरूलाई कारबाही गर्न माग गरेको थियो। सोही आधारमा प्रमुख जिल्ला अधिकारीले प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
निर्देशनपछि प्रहरीले अदालतबाट आइतबार पक्राउ पुर्जी लिएको थियो। त्यसअनुसार आज बिहान पूर्व सांसद साह र सांसद झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।









