जनकपुर। मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी सात राजनीतिक दलको गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको छ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव दर्ता भई प्रक्रिया अघि बढिरहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूले उपसभामुखलाई भेटेर बैठक बोलाउन आग्रह गरेका हुन्। विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मंसिर ३ गते बुधबार प्रदेशसभा बैठक आह्वान गर्न उपसभामुख बबिता राउतसमक्ष लिखित माग पेश गर्नुभयो।
उहाँसँगै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलगायतका सदस्यहरू उपस्थित थिए। नेता साहका अनुसार प्रदेशसभा नियमावली अनुसार २५ प्रतिशत सदस्यले माग गरे प्रदेशसभा बैठक बोलाउन सकिने प्रावधान छ। यही आधारमा ३२ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरी बैठक तत्काल बोलाउन माग गरिएको बताइयो।
सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल अघि बढाउन बैठक अपरिहार्य भएकाले आफूहरूले बैठक आह्वानको माग गरेको विपक्षी दलहरूको भनाइ छ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत दलहरू विपक्षी गठबन्धनमा छन्।
कात्तिक २२ गते तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वास मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन।









