निर्वाचन आयोग : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत पहुँच नभएको स्पष्टिकरण


काठमाडौं। निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावलीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नभएको स्पष्ट गरेको छ।

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आयोगको सूचना प्रणाली ह्याक भएको जस्ता दाबीहरू सार्वजनिक भएपछि आयोगले विज्ञप्ति जारी गर्दै ती सबै दाबी गलत, भ्रामक र अप्रमाणित भएको बताएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनामा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच छैन। मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ।”

आयोगका अनुसार सामाजिक सञ्जालमा प्रसारित ‘आयोगको प्रणालीबाट निकालिएको’ भन्दै देखाइएका पीडीएफ फाइलहरू वास्तवमा विगतमा निर्वाचन प्रयोजनका लागि कानुनअनुसार निर्वाचन कार्यालय र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू मात्र रहेको स्पष्टीकरण दिएको छ। ती फाइलहरूमा नागरिकका संवेदनशील वा गोप्य विवरण नरहेको आयोगको दाबी छ।

सुरक्षा व्यवस्थाबारे आयोगले सूचना प्रविधि विज्ञमार्फत प्रणालीको निरन्तर अनुगमन, जोखिम विश्लेषण तथा आवश्यक सबै सुरक्षा उपाय अवलम्बन भइरहेको जनाएको छ। साथै, हल्ला, मिथ्या सूचना र अप्रमाणित सामग्रीमा विश्वास नगर्न आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको