मधेस सरकार गठनविरुद्ध प्रदेशसभा सदस्यहरूको पाँचौँ दिनको धर्ना


जनकपुरधाम। मधेस प्रदेशमा सरकार गठनविरुद्ध प्रदेशसभा सदस्यहरूले लगातार पाँचौँ दिन पनि धर्ना दिएका छन्। शुक्रबार बिहान ८ बजेबाट ११ बजेसम्म सात दलका प्रदेशसभा सदस्यहरूले जनकपुरस्थित मधेस भवन अगाडि धर्ना दिएका हुन्।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य कनिष पटेलका अनुसार आजै सातवटै दलका प्रदेशसभा सदस्य र कार्यकर्ताहरूको सहभागितासहित जनकपुरधाममा मोटरसाइकल र्‍याली निकाल्ने कार्यक्रम तय गरिएको छ। उनले शनिबार बेलुका मशाल जुलुस र आइतबार दिनभर सडक प्रदर्शनको तयारी भइरहेको पनि जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवनमा राजनीतिक तनाव बढेको हो।

उक्त निर्णयको विरोधमा नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू संयुक्त आन्दोलनमा छन्।

मङ्गलवार साँझ मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्न जाँदै गर्दा प्रदेश भवन बाहिर प्रदर्शन चर्किएको थियो। सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना प्रदर्शनकारी घाइते भएका थिए।

घटनाको विरोधमा सात दलीय गठबन्धनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसबीचमा मुख्यमन्त्री नियुक्त गर्ने तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पनि सरकारले पदमुक्त गरिसकेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको