जनकपुरधाम। धनुषाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा वृद्ध महिलाको हत्या गरी सुन-चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
गत कात्तिक २४ गते राति करिब ९ बजे सोही टोलकी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र इलाका प्रहरी कार्यालय सुगानिकाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सोही टोलकी ४५ वर्षीया पवित्री देवी मण्डलले मृतकको हत्या गरी उनको सुन-चाँदीका गरगहना लुटेको खुलेको जनाएको छ।
मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनको साथबाट मृतककी गरगहना – २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा – बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले फेला पारेको छ। पक्राउ परेकी मण्डलमाथि जिल्ला अदालत धनुषाबाट म्याद अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









