बर्दिबास – सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेका प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल तथा म.प्र. ०२–००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ का २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
त्यस्तै, दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार केही घाइतेहरू बोल्न समेत नसक्ने अवस्थामा छन्।
दुर्घटनापछि म.प्र. ०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको छ। ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते चारैजनालाई दुधौली नगर अस्पतालमा उपचारका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिनुभयो।









