वर्दिवास। वर्दिवासमा पछिल्ला दिनहरूमा बढ्दै गएको भ्रष्टाचारका घटना रोक्न तथा आगामी दिनमा यस्तो कार्य हुन नदिन माग गर्दै वर्दिवासका सचेत युवाहरूले खवरदारी र्याली निकालेका छन्। वर्दिवासस्थित साझा सहकारीको प्राङ्गणबाट सुरु भएको र्याली वर्दिवास बाजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो।
युवाहरूले वर्दिवास बजार, नगरपालिकाको कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, खानेपानी आयोजना, जिल्ला प्रशासन कार्यालय र यातायात कार्यालय अगाडि पुगेर प्रतीकात्मक प्रदर्शन गरेका थिए। ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘सुशासन कायम गर’, ‘भ्रष्टाचार बन्द गरौँ’, ‘युवा खवरदारी जारी राखौँ’ जस्ता नारासहित प्ले–कार्ड बोकेर उनीहरू सडकमा उत्रिएका थिए।
कोणसभामा बोल्दै युवा अभियन्ता कपिल रिसालले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूहरूलाई धम्की तथा मुद्दा–मामिलाबाट डराउन खोजिएको आरोप लगाए। “हामी डराउँदैनौँ, खवरदारी आन्दोलन अझ सशक्त रूपमा निरन्तर चलाइन्छ,” उनले भने।
अभियानमा सहभागी युवा सुगम पौडेलले वर्दिवासका सबै सरकारी तथा सार्वजनिक संस्थाहरू आर्थिक रुपमा पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याए। “हरेक निकायले आम्दानी–खर्च सार्वजनिक रूपमा देखाउनुपर्छ, जनतासामु जिम्मेवार हुनु नै सुशासनको आधार हो,” पौडेलले भने।
भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सबैको सहमति भए पनि व्यवहारमा यसको कमी देखिन नसकेको विशेषज्ञहरूको भनाइ छ। सरकारी तथा गैर–सरकारी दुबै क्षेत्रमा देखिने र लुकेर हुने भ्रष्टाचार व्यापक रहेको विभिन्न अध्ययन तथा तथ्यांकले संकेत गरेका छन्। सामाजिक परीक्षण र सार्वजनिक निगरानी प्रणाली सुदृढ गर्न सके भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण प्रभाव पर्ने जानकारहरू बताउँछन्।









