बुटवल। भारतीय सीमाबाट भन्सार छलेर ल्याइएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले तिलोत्तमा नगरपालिका–१५ सखवानीबाट उक्त मोबाइलहरू बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाका अनुसार बरामद गरिएका मोबाइलहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ। बरामद गरिएका फोनहरूको अनुमानित बजार मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आईफोन ११, १३, १५, १७, एक्सआर, एक्सलगायत विभिन्न मोडलका फोन बरामद गरिएका छन्। त्यस्तै, प्रहरीले भन्सार छलेर ल्याइएका करिब ८७ हजार २ सय ४० रुपैयाँ बराबरका विभिन्न कपडाहरू समेत नियन्त्रणमा लिएर भन्सार प्रक्रियामा पठाइएको डिएसपी रानाले जानकारी दिए।










