काठमाडौं। भ्रष्टाचार निवारण, युवा रोजगारीका अवसर सिर्जना र राज्य संयन्त्रमा युवाको प्रभावकारी सहभागितालाई प्राथमिकतामा राख्दै राष्ट्रको लागि युवा जागरण अभियान–२०८२ औपचारिक रूपमा सुरु गरिएको छ। अभियानले हाल देशभर फैलिएको Gen-Z आन्दोलनबाट उठाइएका मूल मुद्दाहरूलाई स्थायी राजनीतिक स्वरूप दिने उद्देश्य राखेको छ।
अभियानका अनुसार आगामी प्रतिनिधि सभा चुनावमा सफा छवि, नीतिगत प्रतिबद्धता र युवा–हितैषी दृष्टिकोण भएका उम्मेदवारहरूलाई समर्थन र जिताउने वातावरण बनाइनेछ।
जातिवाद, नातावाद र भ्रष्टाचारविरुद्ध स्पष्ट अडान
अभियानले जातिवाद, परिवारवाद, नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता कुप्रथाको कडा विरोध गर्दै कानुनी, संरचनात्मक र व्यवहारगत सुधारमा जोड दिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि कानुनको कडाइ, पारदर्शिता र चरित्र निर्माणलाई अभियानका मूल आधारस्तम्भमा राखिएको छ।
भविष्यमा लोकतान्त्रिक र सामूहिक नेतृत्वमा आधारित दल गठनको संकेत
अभियानका संयोजक समूहका अनुसार भविष्यमा राजनीतिक दल गठन भएमा सामूहिक नेतृत्व र समान सहभागितामा आधारित लोकतान्त्रिक संरचना विकास गरिनेछ।
निर्णय प्रक्रियामा गहन छलफल, सामूहिक सहमति र जनउत्तरदायी प्रणाली अनिवार्य गरिने बताइएको छ।
समावेशीकरण र संघीयता सुदृढीकरणमा प्राथमिकता
Gen-Z अभियानले संघीयता र समावेशी राजनीतिक संरचनालाई सुदृढ बनाउँदै विकेन्द्रीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ।
दलित, सीमान्तकृत र पछाडि पारिएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने समेत अभियानले बताएको छ।
राजनीतिक सहकार्य र चुनावी रणनीति
अभियानसँग सहमत मूल मुद्दा साझा गर्ने राजनीतिक दल, समाजिक संगठन तथा स्वतन्त्र व्यक्तिहरूसँग नीतिगत सहकार्य गरिने जनाइएको छ।
चुनावमा योग्य र विश्वासिलो उम्मेदवारलाई सङ्गठित जनसमर्थन दिलाउने र युवालाई नेतृत्व प्रक्रियामा विस्तृत रूपमा सहभागी गराउने कार्यक्रम सञ्चालन हुने अभियानले जनाएको छ।
समर्थन पाउने उम्मेदवारका सार्वजनिक प्रतिबद्धता
अभियानले समर्थन गर्ने उम्मेदवारले निम्न प्रतिबद्धता गर्नुपर्नेछः
भ्रष्टाचार नगर्ने र नगर्नदिने
- विशेषज्ञको सल्लाहमा आधारित व्यवस्थापन र नीति कार्यान्वयन
- लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा युवालाई प्राथमिकता
- विगतका आन्दोलनकारी युवामाथि लगाइएका झुटा मुद्दा फिर्ताका लागि पहल
- घोषणापत्र कार्यान्वयनमा पूर्ण जवाफदेहीता, नपुगे राजीनामा दिन तयार रहने
सहकार्यका सर्तहरू
अभियानले अन्य दल वा संगठनहरूसँग सहकार्यका लागि निम्न सर्तहरू राखेको छ:
- पार्टी नेतृत्व Gen-Z वा युवा पुस्तालाई हस्तान्तरण
- ५०% भन्दा बढी टिकट र समानुपातिक सूचीमा युवाको सहभागिता
- पार्टी अध्यक्ष पदमा १० वर्षभन्दा बढी निरन्तर नबस्ने
- परिवारवाद, नातावाद, जातिवाद र कृपावाद निषेध
- संघीयता र प्रदेश संरचनामा अटल प्रतिबद्धता
अभियानले देशभरका युवालाई “राष्ट्रनिर्माणको नेतृत्वमा सक्रिय रूपले उभिन” आह्वान गरेको छ।










