सिरहा। सिरहा जिल्ला गोलबजार नगरपालिका-८, पुरानो चोहर्वा टोलमा लागुऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
मिति २०८२/०७/१८ गते साँझ करिब १७:२० बजेको समयमा प्रहरीले गोलबजार नगरपालिका-१०, महाजन टोल बस्ने करिब २० वर्षीय रुपेश सिंहलाई पक्राउ गरेको हो। प्रहरीलाई देखेर भाग्न खोजेका सिंहलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको दाहिने हातमा रहेको सानो कालो प्लास्टिकको पोकामा खैरो हिरोइनजस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिक सहित २ ग्राम ६४० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १३० मिलिग्राम रहेको छ। बरामद गरिएको लागुऔषध र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।









