जनकपुर। धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र-०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-१, वीरेन्द्र बजार नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
दुर्घटनामा गणेशमान चारनाथ-१, भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो। मृतक मध्ये तीन जना एउटै परिवारका सदस्य रहेको पुष्टि भएको छ।
यसैगरी, १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।









