महोत्तरीमा सडक दु‌‌र्घटना: बालिकाको मृत्यु


महोत्तरी। महोत्तरीको औरही नगरपालिका-४ कटुधारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्।

बुधबार अपराह्न नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो। स्थानीय सन्ध्या यादवसँगै साइकलमा सवार रहेका बेला आएको मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन्।

गम्भीर अवस्थाकी शिवानीलाई उपचारका लागि जानकी एकेडमिक हस्पिटल, महोत्तरी पुर्‍याइएकामा बुधबार राति उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकल चालक दुर्घटनापछि भागेको र हाल मोटरसाइकल तथा चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध

दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित आक्रोशित स्थानीयवासीले बिहीबार बिहान ११ बजेदेखि हुलाकी राजमार्गको कटुधार खण्ड अबरोध गरेका थिए।

सम्झौतापछि मार्ग खुलेको

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार, स्थानीय प्रतिनिधि र औरही नगरपालिकाका पूर्व मेयर सुनिल कुमार यादव सहितको छलफलपछि सहमति भएको छ।

सहमतिको बुँदाहरू:

  • एक महिनाभित्र दोषी पत्ता लगाई कारबाही गर्ने
  • दुर्घटना न्युनिकरणका लागि सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने

सहमति भएपछि स्थानीयवासीले राजमार्ग अबरोध हटाएका छन्।

मृत बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको