प्रकृतिको उग्र रूपले अहिले देशभर त्रास पैदा गरेको छ। लगातारको वर्षा, बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ। जल तथा मौसम विज्ञान विभाग र विपद् व्यवस्थापन प्राधिकरणले पटक–पटक सतर्कता सूचना जारी गरिरहेका छन्—तर नागरिकको व्यवहारमा त्यसको असर देखिँदैन। सरकारले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरे पनि, धेरैले जोखिमपूर्ण यात्रामा निर्भीकतापूर्वक निस्किरहेका छन्।
यही बेवास्ता दुर्घटनाको प्रमुख कारण बन्दै आएको छ। हरेक वर्ष मनसुनसँगै भ्याप्ले खोला, शिमलताल, सिद्धबाबा वा मुगुका दुर्घटनाहरूले डरलाग्दो उदाहरण दिएका छन्। ती घटनाहरूले सतर्कताको महत्व सम्झाएका थिए, तर हामीले सिकेनौं। चेतावनीलाई औपचारिकता ठानेर बाढी र पहिरोको जोखिममा यात्रुहरू निस्किनु केवल व्यक्तिगत लापरबाही होइन, यो सामूहिक जिम्मेवारीबोधको अभाव हो।
दुर्घटनाको पाठ भोगेर होइन, चेतेर सिकिनुपर्छ। जीवन एकपटक मात्रै पाइन्छ, त्यसैले जोखिमसँग खेल्नु मूर्खता हो। राज्यले मौसम सूचना र सडक सुरक्षामा सुधार गर्नुपर्नेछ, तर नागरिकले पनि चेतनासाथ सावधानी अपनाउनैपर्छ। दुर्घटनाबाट जोगिन सबैभन्दा ठूलो उपाय भनेकै चेतावनीलाई गम्भीरताका साथ लिनु हो।
अब सोच बदल्ने समय आएको छ। “भएपछि सिकौंला” होइन, “सिकेर बचौं।” अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगरी, सरकार र विज्ञहरूको सूचनालाई पालना गर्नु नै सुरक्षाको पहिचान हो। किनभने दुर्घटना कुनै दोस्रो मौका दिने विषय होइन, जीवन रक्षाको चेतावनी हो।









