जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ‘जेन-जी जनमत संघ’ नामक युवा संगठन गठन गरी सक्रिय पारेको छ।
पार्टी अध्यक्ष राउतले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै देशभर भइरहेको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यमा खटिन जेन-जी जनमत संघका युवाहरूलाई आह्वान गरेका छन्।
उनले जनमत पार्टीलाई जेन-जी पुस्ताको पार्टीका रूपमा परिभाषित गर्दै भनेका छन्, “अब जे गर्छ, जेन-जीले गर्छ।”
यो संगठनमार्फत पार्टीले राजनीतिक र शासकीय सुधारका महत्त्वाकांक्षी एजेन्डाहरू अघि सारेको छ। तीमध्ये प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा ‘राइट टू रिजेक्ट’ र ‘रिकल’को अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, विज्ञहरूलाई मन्त्री बनाउने तथा न्यायपालिका र संवैधानिक निकायका प्रमुखहरूलाई पनि निर्वाचित प्रणालीबाट चयन गर्ने प्रस्तावहरू समावेश छन्।
राउतले बाढी-पहिरो प्रभावित क्षेत्रमा स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गर्दै सुरक्षित रूपमा राहत तथा उद्धार कार्यमा खटिन सम्पूर्ण पार्टी कार्यकर्ताहरू र विशेषगरी जेन-जी जनमत संघका युवाहरूलाई आग्रह गरेका छन्।










