६ असोज, धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल भदौ महिनाको Police of the Month सम्मान प्रहरी निरीक्षक जटाशंकर यादव लाई प्रदान गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा दरबन्दी भई सो कार्यालयको प्रमुखको रूपमा कार्यरत यादवले पछिल्लो एक महिनाभित्र अपराध नियन्त्रण, अनुसन्धान र सुरक्षामा देखाएको उत्कृष्ट भूमिकाका आधारमा सम्मान पाएका हुन्।
२०८२ भदौ ६ गते धनुषा गणेशमान चारनाथ नगरपालिका-६ स्थित मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न ३ जनालाई पक्राउ गरी चोरी भएका मोबाइललगायतका सामान बरामद गरेर कानुनी दायरामा ल्याएको, भदौ २४ मा देशव्यापी रूपमा भएको JEN-Z आन्दोलनका क्रममा मातहतका ६ प्रहरी कार्यालयसहित क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम गरेको, भदौ ३१ मा विदेह नगरपालिका-३ स्थित एक इँटा भट्टामा लुकाइ राखिएको १९ पोकामा ४७५ किलोग्राम गाँजा, सवारीसहित बरामद गरी १ जनालाई पक्राउ गरेको जस्ता कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, भदौ २३ र २४ मा भएको आन्दोलनकै क्रममा विभिन्न कारागारबाट फरार भएका ५ कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पु¥याएको उपलब्धिलाई पनि विशेष मानिएको छ।
प्रहरी उपरीक्षक नरहरी रेग्मीको हस्ताक्षरमा जारी निर्णयअनुसार, निरीक्षक यादवले देखाएको उच्च व्यवसायिकता, कुशलता र जिम्मेवारी निर्वाहले प्रहरी संगठनको छवि उजागर गरेको भन्दै उनलाई २०८२ साल भदौ महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषित गरिएको हो।










