सप्तरी – जेनजी आन्दोलनका क्रममा सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
कार्यालयका अनुसार आन्दोलनकै क्रममा विभिन्न व्यक्तिहरूले सरकारी कागजात, जिन्सी सामान, फर्निचरलगायतका सामग्री लुटपाट गरेर लगेका छन् । सामग्री बोकेर लैजाने दृश्य भिडियो र तस्वीरमार्फत प्रमाणित भएको पनि कार्यालयले जनाएको छ ।
यसै सन्दर्भमा डिभिजन वन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै लुटपाट वा चोरीमा संलग्न व्यक्तिहरूलाई तत्काल सामान फिर्ता गर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ, “कार्यालयमा रहेका सम्पूर्ण मालसामान चोरी गरी लगिएको पुष्टि भएकाले ती सामग्री तत्काल फिर्ता गरिदिनुहुन अनुरोध गर्दछौं । अन्यथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ ।”
उक्त सूचना डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।










