जनकपुरधाम । आज (भदौ २९ गते) नेपालभर राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नेपाली बालबालिका, अभिभावक तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष यसै दिन बाल दिवस मनाउने गरिएको छ। यस वर्षको नारामा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल सन्देश समावेश गरिएको छ।
सन्देशमार्फत अध्यक्ष राउतले संविधानले बालबालिकाका मौलिक हक सुनिश्चित गरिसकेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा राज्य, नागरिक समाज, विद्यालय, अभिभावक तथा गैरसरकारी निकाय सबैको संयुक्त भूमिका अपरिहार्य हुने बताएका छन्। उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा आवश्यक लगानी सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको प्रष्ट पारे।
डा. राउतले सन्देशमा भनेका छन् “बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यले सचेततापूर्वक कदम चाल्नुपर्ने आजको आवश्यकता हो। अझै पनि धेरै बालबालिका अधिकारबाट वञ्चित छन्, हिंसा र दुव्र्यवहारका घटनाहरू सुनिन्छन्, त्यसैले बालबालिकामाथि हुने सबै प्रकारका अमानवीय व्यवहार रोक्नु सबै सरोकारवालाको दायित्व हो।”
अध्यक्ष राउतले हालैको जेन–जी आन्दोलनमा शहीद भएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो सन्देशलाई विशेष भावनात्मक बनाएका छन्। उहाँले आन्दोलनहरूमा निरन्तर बलिदान दिंदै आएका बालबालिकाको पीडा राष्ट्रकै साझा दुःख भएको उल्लेख गर्दै, भविष्यमा बालबालिकालाई हिंसा र बलिदान होइन, अधिकार, शिक्षा र अवसर दिलाउन समाज र राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि सबैले आ–आफ्नो भूमिकाबाट योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याउँदै डा. राउतले यस दिवसले सम्पूर्ण नेपालीमा प्रेरणा जगाउने विश्वास व्यक्त गरेका छन्।



















