बर्दिवासमा आगजनीपछि नष्ट भएको प्रहरी बिट पुनःस्थापित


महोत्तरी, बर्दिवास ।
हालैको जेनजी आन्दोलनका क्रममा आगजनीपछि पूर्णरूपमा नष्ट भएको बर्दिवास नगरपालिका–४, भोला बसन्त चौकस्थित प्रहरी बिट पुनः सञ्चालनमा आएको छ। बिहीबारदेखि सुरु भएको सरसफाइ तथा मर्मत–सम्भारपछि शुक्रबारदेखि रंगरोगनसहित स्थानीयवासीको सहयोगमा सो प्रहरी बिट पुनः सञ्चालनमा ल्याइएको हो।
ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी बिकास बमले प्रहरी बिट सञ्चालनमा सहयोग गर्ने स्थानीय भद्रभलाद्मी, व्यवसायी र सर्वसाधारणप्रति आभार प्रकट गर्दै प्रहरी–जनता सहकार्य अझ मजबुत भएको बताए। उनले भने, “नेपाल प्रहरी जनताको ज्यान–धनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ। तत्कालको आवेगमा प्रहरी बिटलाई क्षति पुगे पनि सज्जन जनताले यसलाई उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।”
प्रहरीले सामाजिक सञ्जालमार्फत पनि “प्रहरी बलियो बनाऔं, कानुनी शासन सुदृढ गरौं” भन्ने अपील गर्दै पुनःस्थापित बिटलाई केवल भौतिक संरचना मात्र नभई कानुनी शासनको निरन्तरता र प्रहरी–जनता सहकार्यको प्रतीकको रूपमा लिएको छ।
बर्दिवास सहरी क्षेत्र भएकाले दिनहुँ सवारी चेकजाँचदेखि विभिन्न आपराधिक घटना नियन्त्रणमा यो बिटको ठूलो योगदान रहेको प्रमुख बमले बताए। उनले थपे, “पूर्व–पश्चिम राजमार्गमा हुने गतिविधि नियन्त्रण र सुरक्षा संवद्र्धनमा यो बिट महत्त्वपूर्ण रहँदै आएको छ।”
यसैबीच, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले यो प्रहरी बिट व्यवसायी र स्थानीयवासी सबैका लागि लाभकारी रहेको भन्दै संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “सहकार्यको भावनाले सबैले चन्दा संकलन गरेर यस बिटको सौन्दर्यकरण गरिएको हो, आगामी दिनमा पनि यसलाई थप व्यवस्थित बनाउन हामी तत्पर छौं।”
स्थानीयवासीले पनि प्रहरी बिटको पुनः सञ्चालनलाई आफ्नो सुरक्षासँग प्रत्यक्ष सम्बन्धित ठानेका छन्। उनीहरूले प्रहरी बलको उपस्थिति जनसाधारणको मनोबल उच्च बनाउन मद्दत पु¥याउने र सामुदायिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

यसरी, जलेको प्रहरी बिटलाई पुनः सञ्चालनमा ल्याउने स्थानीय प्रयासले बर्दिवासमा प्रहरी–जनता सम्बन्ध अझ सुदृढ बनाएको छ भने शान्ति, सुरक्षा र विकासप्रतिको सामूहिक जिम्मेवारीलाई पनि उजागर गरेको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको