जलेश्वर – कारागार कार्यालय महोत्तरीले आन्दोलनकै क्रममा बन्दीगृहमा भएको भागदौडपछि फरार भएका कैदीबन्दीलाई स्वेच्छाले फर्किन हार्दिक अपिल गरेको छ।
कारागार प्रशासनका अनुसार भदौ २४ गते साँझ करिब ७ बजेतिर आन्दोलनको क्रममा अप्रत्याशित ढंगले कैदीबन्दीले भागमभाग मच्चाउँदा केही बन्दी भाग्न सफल भएका थिए।
यस सम्बन्धमा प्रशासनले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र कारागारमा स्वेच्छाले फर्किने कैदीलाई कानुनअनुसार सजायमा छुटको सुविधा दिन सकिने जनाएको छ। तर तोकिएको समयमा नफर्केमा कानुन बमोजिम कडाइका साथ कारबाही हुने चेतावनी दिइएको छ।
कारागार प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सुरक्षामा थप कडाइ गरिएको जनाएको छ। साथै फरार कैदीलाई नियन्त्रणमा लिन जनताको सहयोग आवश्यक हुने भएकाले सतर्क रहन समेत आग्रह गरिएको छ।









