२५ भदौ, रौतहट। जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बुधबार दिउँसो मलंगवाको शिवसागर चोकबाट यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई प्रहरी उपरीक्षक (एसपी) लाई गालीगलौज गरेको, आपराधिक उपद्रवमा संलग्न भएको र राज्यविरुद्धको अपराध गरेको आरोप लगाएको छ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, यादवले प्रहरी प्रमुखसँग फोनमा गालीगलौज गरेको अडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। असारको अन्तिम सातामा मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको भुक्तानी विवादका क्रममा सो अडियो रेकर्ड भएको र त्यही बेला यादवले प्रहरी प्रमुखमाथि अभद्र भाषा प्रयोग गरेको जनाइएको छ।
घटनापछि फरार रहेका यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाइने डिएसपी राईले बताए।









