महोत्तरी – मिथिला क्षेत्रलगायत मधेसका विभिन्न स्थानमा आज अनन्त पर्व श्रद्धापूर्वक मनाइँदै छ। चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन गुरु वा पुरोहितका हातबाट अनन्त डोरा बाँधेर हिन्दू मैथिल समुदायले यो पर्व मनाउने परम्परा छ।
अनन्त भगवान् विष्णुको प्रतीक मानिँदै पर्वमा विशेष पूजा आराधना गरिन्छ। पूजापछि पुरोहितद्वारा अभिमन्त्रित १४ सूत्रको धागो (अनन्त डोरा) दाहिने हातको पाखुरामा बाँधिन्छ। यसलाई आपतविपतबाट रक्षा गर्ने, आरोग्य, सुख र समृद्धि दिने जनविश्वास रहेको छ।
यसैबीच, आज राति चतुर्दशी तिथि सकिएपछि सुरु हुने पूर्णिमामा मिथिला क्षेत्रमा इन्द्र पूजनोत्सवको तयारी भइरहेको छ। हिन्दू परम्पराअनुसार इन्द्रको पूजा आराधना गरे अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने विश्वास रहिआएको छ।
भदौ पूर्णिमामा बस्तीबस्तीमा इन्द्रका मूर्ति (प्रतिमा) स्थापना गरेर मेला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा छ। मिथिलामा यस दिनलाई इन्द्र पूर्णिमा र सो उत्सवलाई इन्द्रजात्रा भनिन्छ।










