जनकपुरधाम – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरूले सामाजिक विकृति फैलाएको भन्दै नियन्त्रणका लागि पहल गर्न आग्रह गरेको छ।
उद्योग वाणिज्य संघ र होटेल व्यवसायीलाई ज्ञापनपत्र बुझाउँदै हिसानले विद्यार्थीहरूबाट हुने अश्लील तथा अनुशासनविपरीतका गतिविधि रोक्न सहकार्य गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा विद्यालय ड्रेसमै पसलमा पुगेर चुरोट, खैनी, गुट्खा सेवन गर्ने, जन्मदिन मनाउने नाममा होटेलहरूमा फजुल खर्च गर्ने, अभद्र व्यवहार गर्ने, अश्लील टिकटक वा भिडियो बनाउने तथा कोठा भाडामा लिएर अश्लील गतिविधि गर्ने जस्ता प्रवृत्ति बढ्दै गएको उल्लेख छ।
यस्ता क्रियाकलापले विद्यालय, क्याम्पस र अभिभावकको प्रतिष्ठामा आघात पुगेको भन्दै हिसानले साउन १६ गते बसेको बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाएको जनकपुरका अध्यक्ष संजिव कुमार ठाकुरले जानकारी दिए।
विद्यार्थीबाट हुने विकृति नियन्त्रण गर्न उद्योग वाणिज्य संघ र होटेल व्यवसायीको सहकार्य अपरिहार्य हुने भएकाले सहयोगको वातावरण बनाउन आग्रह गरिएको छ। साथै, विद्यार्थी ड्रेसमै पसलमा आउने अवस्थालाई ध्यानमा राखी उनीहरूलाई प्रतिवन्धित सामान नबेच्न उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख छ।









