जनकपुरधाम – गर्मी र वर्षाको मौसम सुरु भएसँगै तराई – मधेशका विभिन्न जिल्लामा सर्पदंशका घटना बढिरहेका छन्। सावधानी नअपनाउँदा सर्पको टोकाइमा पर्ने जोखिम अझ बढी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको तथ्यांकअनुसार पछिल्लो समय दैनिक पाँचदेखि छ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइपुग्ने गरेका छन्। अस्पतालको इमरजेन्सी वार्ड प्रमुख डा. उज्वल झाका अनुसार बिरामीको संख्या निरन्तर बढ्दो क्रममा छ।
चैत २०८० यता मात्रै १ हजार १ सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्। तीमध्ये ६९ जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको अस्पतालले जनाएको छ। समयमै उपचार लिनेको संख्या बढेकाले मृत्युदर तुलनात्मक रूपमा घटेको भए पनि सो अवधिमा सात जनाले ज्यान गुमाएका छन्।
डा. झाले जानकारी दिएअनुसार, विषालु सर्पले डसेको थाहा पाउन ढिलो हुनु, सबै अस्पतालमा आईसीयू र भेन्टिलेटर सुविधा उपलब्ध नहुनु तथा दक्ष जनशक्तिको अभावका कारण मधेसमा अझै पनि सर्पदंशका कारण मृत्यु हुने घटना भइरहेको छ।









