जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका – २० देवपुरा रुपैठामा हालै भएको साम्प्रदायिक तनाव साम्य पार्न प्रशासनले पुरानो निर्णय कार्यान्वयन गर्ने भएको छ।
जिल्लास्तरीय राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा तथा सरोकारवालाहरूको सर्वदलीय बैठकले २०७८ साल कात्तिक २९ गतेको दंगा र २०८१ साल साउनमा भएको विवाद व्यवस्थापनसम्बन्धी सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्ने प्रतिबद्धता जनाएको छ। साथै धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि भए तत्काल कानुनी कारबाही गर्ने निर्णय गरिएको छ।
स्थायी शान्ति र सद्भाव कायम गर्न धार्मिक अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलका प्रतिनिधिहरू सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको बैठकले २०८२ भदौ १४ र १५ मा भएका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रियामा सहकार्य गर्ने निर्णय पनि गरेको छ।
बैठकले विगतमा अतिक्रमित तेलिया पोखरीलाई मुक्त गराई हिन्दु समुदायले परम्परागत रूपमा गर्दै आएको छठ पर्व निर्विघ्न मनाउने वातावरण बनाउन सहमति जनाएको हो। हिन्दु समुदायले सयौँ वर्षदेखि त्यहाँ छठ पर्व मनाउँदै आएको भए पनि पछिल्ला वर्षहरूमा अतिक्रमण, मासुजन्य वस्तु बिक्री र पूजाआजामा अवरोधका कारण विवाद चुलिँदै आएको थियो।
प्रशासनले यसअघि छठ पर्वमा हिन्दु समुदायले पूजा गर्ने र मुस्लिम समुदायले दाहा गर्ने सहमति गराएको भए पनि अतिक्रमण नहटाइएपछि पुनः तनाव सिर्जना भएको हो।
यसैबीच, हिन्दु सम्राट नेपाल नामक संगठनले तेलिया पोखरीको निर्णय तत्काल कार्यान्वयन नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएको छ।









