धोवनी गाउँपालिकामा स्थानीय आक्रोश, सूचना नपाएपछि कार्यालयमा तालाबन्दी


वीरगञ्ज – सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण नपाएपछि पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्।

स्थानीयवासी सुनिल साहलगायतले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च भएको रकमको प्रमाणित विवरण मागेका थिए। तर पूर्ण विवरण नपाएपछि उनीहरूले दिउँसो साढे ११ बजेदेखि गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरेको बताएका छन्। तालाबन्दीका कारण अध्यक्ष मदन चौहान, पाँच वडाध्यक्ष र कर्मचारीहरू कार्यालयभित्रै रोकिएका छन्।

अध्यक्ष चौहानले भने मागअनुसार सूचना उपलब्ध गराइएको दाबी गर्दै राजनीतिक पूर्वाग्रहका कारण तालाबन्दी गरिएको टिप्पणी गरेका छन्। “सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारीलाई बोलाउँदा पनि वार्तामा नआएको” उनको भनाइ छ।

स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले कार्यालय वरिपरि बाक्लो सुरक्षा व्यवस्था गरिएको र भित्र रहेका जनप्रतिनिधि तथा कर्मचारी सुरक्षित रहेको प्रहरीले जनाएको छ।

स्थानीयहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रमाणित बिल – भौचरसमेत माग गरेका सूचना अधिकारी बृजकिशोर त्रिपाठीले जानकारी दिए। उनका अनुसार १८ बुँदे सूचना माग गरिएकोमा केही सूचनामात्र उपलब्ध गराइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको